पर्वत । पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माणको काम सकिन लागेको हो।
कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो ।
अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार गर्न सक्ने कार्यालयले जनाएको छ । दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याटबाहेक आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो ।