काठमाडौं। काठमाडौंको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन्। धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्वको बौडेश्वर मन्दिर निर्माण गर्न तारकेश्वर र टोखाले संयुक्त रूपमा एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ सहयोग गर्ने भएका हुन्।
धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरे ।
दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ ।