रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन् ।
रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिएका हुन् ।
आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए ।
प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्त्वपूर्ण रहेको पुनले बताए ।