काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको जनप्रतिनिधिलाई बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने बताएका छन् । आइतबार बालुवाटारमा गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उप–प्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने बताएका हुन्।
छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराएका थिए । ‘बुढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीको छ’, उनले भने, ‘आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौँ ।’
जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा चालु आव भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।