काठमाडौं। नारायणगढ–बुटवल सडकको काम समयमा पूरा नगरे ठेक्का तोड्ने चेतावनी दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसी) लाई निर्धारित समयमा काम पूरा नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।
उक्त सडक विस्तार समयभित्रै सक्न निर्देशन दिँदै उनले म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने स्पष्ट पारेका छन् ।
सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् ।
उनले भने, ‘अब समयमा काम सक्नैपर्छ। अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन ।’
बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे ।