काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न सडक खण्डमा १ हजार बढी स्मार्ट सडक बत्ती जडान गरेको छ । महानगरपालिकाले रातको समयमा यातायातको सहज आवागमन तथा सामाजिक सुरक्षा कायम गर्ने उद्देश्यले सडक विभाग तथा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा मुख्य सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरेको हो ।
महानगरपालिकाका अनुसार अहिलेसम्ममा विभिन्न सडक खण्डमा १ हजार ३७ वटा स्मार्ट सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ। महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा स्मार्ट सडक बत्ती जडान भएका छन् ।
यस्तै, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा स्मार्ट सडक बत्ती राखिएको छ । कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिसकिएको महानगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रभित्रको फराकिलो सडकमा १२० वाट क्षमताको स्मार्ट बत्ती जडान गरिएको छ भने साँघुरो सडकमा ९० वाट क्षमताको स्मार्ट बत्ती जडान गरिएको छ । पहिले गरिएको अध्ययनले यी सडकहरूमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा स्मार्ट बत्ती जडान गर्नुपर्ने थियो । तर, काम गर्दै जाने क्रममा अनुमानभन्दा कम बत्ती जडान गर्नुपरेको बताइएको छ।