काठमाडौं। जोमसोम-कोरला सडक खण्डको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। ११० किमी सडकको ७ खण्डमध्ये हालसम्म ६ खण्डको काम अन्तिम चरणमा पुगेको हो।
स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट विनियोजन भएको उक्त सडक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मार्ग विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३/०७४ देखि दुई लेनको ग्राभेल सडक निर्माण सुरु गरिएको थियो।
सडक स्तरोन्नतिको जिम्मा लिएका चार वटा निर्माण कम्पनीले लिएका थिए। जिम्मा लिएका सबै निर्माण कम्पनीले काम सम्पन्न गरेको आयोजना प्रमुखले जानकारी दिए।
आयोजना प्रमुखका अनुसार सात खण्डमध्ये ६ खण्ड पूरा भएको र चराङ(छोसेर एक मात्र खण्ड मात्रै निर्माण कम्पनीको ढिलासुस्तीले सम्पन्न हुन सकेको छैन। उनका अनुसार चराङ-छोसेर २५ किमीमा विगत तीन वर्षदेखि काम हुन सकेको छैन।
उक्त खण्डका लागि २४ करोड बजेट विनियोजन भएकोमा १५ करोडको काम भइसकेको छ। अब ३५ प्रतिशत मात्र काम बाँकी छ। लामो समयदेखि उक्त खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको एक करोड ९ लाख रुपैयाँ मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको छ।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको यस सडक खण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ। आयोजनाका अनुसार समरको भीर, झो खोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ। घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर बैकल्पिक सडक निर्माण भइसकेको आयोजनाले जानकारी दिएको छ। निर्माण व्यवसायी काममा फर्किए दुई महिनाभित्रै सम्पूर्ण काम पूरा हुने आयोजनाले बताएको छ।