गोरखा। भूकम्प (२०७२) ले क्षतविक्षत बनाए लगत्तै बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र बारपाकलाई कालोपत्रे सडक जोडिने बताएका थिए। ६ वर्ष बितिसक्दा पनि अहिले सम्म जोडिन सकेको छैन।
गोरखा बाह्रकिलोदेखि बारपाक ४६ किलोमिटर सडक स्तरोन्नति ६५ प्रतिशत मात्र पूरा भएको छ। जति सम्पन्न भएको छ, त्यो पनि बायोइञ्जिनियरिङ र सडक सुरक्षाका हिसाबले ठिक छैन। अहिले सबैतिर कम्तीमा दुई लेनका सडक बनेका छन्।
राङरुङदेखि मान्द्रेसम्म उकालोमा ग्रेडिङ, घुम्तीलगायतका इञ्जिनियरिङ पनि मिलेको छैन। उक्त सडक स्तरोन्नतिका लागि एघारकिलो–छेपेटार–भालुस्वाँरा– बारपाक सडक योजनाले चारवटा प्याकेज बनाएर ठेक्का लगाएको थियो। जसमध्ये २२ देखि ३० किलोमिटर खण्डमा ७५ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवास गुरुङले जानकारी दिए।
ठेकेदारको लापरबाहीका कारण कालोपत्रे पूरा हुन सकेको छैन। योजना कार्यालयले पनि ताकेदा नगर्दा बारपाकवासी वर्षामा यातायात सेवाबाट बञ्चित छन्।
स्थानीयका अनुसार सरकारले आँखामा छारो हाल्ने काम गरिरहेको छ। भूकम्पबाट बाँचेकाहरूको पीडा भुलाउन कालोपत्रे हुनुपर्ने हाम्रो माग थियो। नेताहरू आउँछन्। आश्वासन मात्रै दिएर जान्छन्, स्थानीयले बताए।