काठमाडौं। चन्द्रागिरि नगरपालिकामा २२०/१३२ केभीको मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गतको मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको हो।
त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने सो सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठुलो सबस्टेसन हब बनेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको जानकारी दिए ।
मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नुपर्ने हुन्छ । मार्कीचोक सबस्टेसन तयार भएको छैन भने त्रिशूली ३ बी हब आगामी चैत दोस्रो साताभित्र चार्ज गर्ने तयारी प्राधिकरणको छ ।