काठमाडौं। जलविद्युत् आयोजनाको सञ्चालन र मर्मत गर्न चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) र एन्ड्रिज हाइड्रो कम्पनीले सहकार्य सुरु भएको छ। मंगलबार काठमाडौँमा ‘फ्युचर–प्रुफ हाइड्रोपावर स् पाराडाइम सिफ्ट इन ओ एन्ड एम प्राक्टिसेज’ विषयक कार्यशाला गोष्ठीको संयुक्त रूपमा आयोजना गरी दुवै कम्पनीले यसमा सहकार्यको सुरुवात गरेका हुन् ।
कार्यशालामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले चेस्कोको स्थापना नै जलविद्युत् आयोजनाहरूको सञ्चालन र मर्मत सेवाकै लागि भएको बताउँदै ‘ओ एन्ड एम’ सेवा कार्यमा यी दुई कम्पनी बीच सहकार्य हुनसक्नु खुसीको कुरा हुने बताए ।
नेपालका सरकारी तथा निजी क्षेत्रका थुप्रै जलविद्युत् आयोजनाहरूमा आफ्ना उत्पादन, प्राविधिक तथा इन्जिनियरिङ सेवा दिँदै आएको एन्ड्रिज हाइड्रोले नेपालमा राम्रो टिम परिचालन गरिरहेको पनि उनले बताए ।
पछिल्लो समय नर्वेजस्ता कतिपय देशले जलविद्युत् आयोजनालाई पूर्ण स्वचालित बनाई विद्युत्गृहहरूलाई मानवरहित (जनशक्ति विहीन) बनाएर सञ्चालन खर्चमा व्यापक कटौती गरेको उदाहरण दिँदै नेपालका आयोजनाहरूको सञ्चालन खर्च कटैतीका लागि पनि त्यस्तै किसिमको स्वचालन (अटोमेशन) मा लानुपर्ने आवश्यकता रहेको घिसिङले बताए ।
चेस्कोका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले जलविद्युत् आयोजनाहरूको सञ्चालन तथा मर्मतसम्भारको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव र बौद्धिकता पलायनको अवस्था देशले भोग्नु परिरहेको बताए ।