दाङ। अर्घाखाँचीको सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका जोड्ने गच्छे–भालुबाङ सडकको काम धमाधम भईरहेको छ। २०५६ सालदेखि सुस्त गतिमा काम भएको गच्छे–भालुबाङ सडक लुम्बिनी प्रदेशको राजधानी दाङ भएपछि थप चासो दिइएको हो।
प्रदेश सरकारको १६ करोड रुपैयाँ बजेटमा गच्छे–भालुबाङ सडक खण्डको टोड्के देखि लामातालसम्मको २९ किलोमिटर सडकलाई ग्राभेल र स्ट्रक्चरको काम भएको छ । गच्छे–टोड्केसम्म ग्राभेल भएको छ ।
शितगंगा नगरपालिकाको लामातालबाट राप्ती किनार हुँदै बढीदमार–प्युठानको चैते–रामपुर हुँदै मुख्य रोडबाट दाङको भालुबाङ जोडिन्छ । यो सडक पुरा भएर यातायात सञ्चालन भएपछि प्रदेश राजधानी दाङसँग अर्घाखाँचीको दुरी छोटो हुनेछ।
यो पर्यटकीय सडक पनि हो । शितगंगा नगरपालिका– ८ र ९ नम्बर वडा, दाङको राप्ती गाउँपालिकाको ९ वटै वडा र गढवा गाउँपालिकाको वडा १, २ र ३ लाई समेटेर राजधानी राप्ती उपत्यका बनेपछि यसको महत्व बढेको छ ।