काठमाडौं। तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजनाको काम हालसम्म ८० प्रतिशत पूरा भएको हो।
आयोजनाको, बाँध, सुरुङ, विद्युतगृह, हाइड्रो मेकानिल, इलेक्ट्रो मेकानिल उपकरण जडान लगायत सबै क्षेत्रका काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको २४०० मिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ । आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको काम भइरहेको छ ।
आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० भित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भएपनि शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ ।
आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।