काठमाडौं। नारायणगढ-बुटवल सडक विस्तार गर्ने योजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्षमा दुई पटक म्याद थप गर्दा पनि ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो।
ठेक्का सम्झौता हुँदाको मितिले २०७९ साउन २२ मा सम्पन्न भइसक्नु पर्नेमा पटक-पटक म्याद थप गर्दा समेत भौतिक प्रगति कम देखिएको छ । सडक विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ।
पहिलोपटक थप गरिएको समय २०८० भदौ १२ गते सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय तालिका २०८१ साउन ८ गते पुर्याइएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने भन्दै अझै एक वर्ष म्याद थप गर्नुपर्ने बताएका छन्।