बाँके। बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खननले खेतीयोग्य जमिन कटान गर्न शुरु गरेको छ। उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम बढेको हो।
जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयको भनाइ छ।
अवैधरुपमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भई बगरमा परिणत हुने र वर्षात्मा बस्तीनै डुबानमा पर्ने जोखिम बढ्दै गएको छ । जोखिम बढेपछि राप्तीसोनारी गाउँपालिका–६ का फत्तेपुरका स्थानीयवासीले उत्खनन् रोक्न माग गरेका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न माग उनीहरुले गरेका हुन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। स्थानीयले नदीबाट हुने कटान, पटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनुपर्ने माग पनि गरेका छन् ।