काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले १०१५ मेगावाटको सौर्य विद्युत् र १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खोल्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
हालसम्म जलविद्युत् आयोजनाअन्तर्गत ७६५० मेगावाट नदी प्रवाही आयोजना (आरओआर) को पिपिए भएको छ । त्यस्तै, करिब ४५०० मगावाट आंशिक जलाशय आयोजना (पिआरओआर) को पिपिए भएको छ । यसअनुसार कुल १२१५० मेगावाट जलविद्युत् आयोजनाको पिपिए भएको छ ।
ऊर्जा मिश्रणको अवधारणा अनुसार कुल पिपिएको १० प्रतिशतले गणना गर्दा हुन आउने १२१५ मेगावाट सौर्य विद्युत् आयोजनाको पिपिए गर्नुपर्ने छ । त्यसमध्ये हालसम्म करिब २०० मेगावाट सौर्य विद्युत्को पिपिए भइसकेको हुँदा अब १०१५ मेगावाटको पिपिए गर्न बाँकी छ । सोही परिमाणको सौर्य विद्युत्का लागि प्राधिकरणले पिपिए खुलाउन लागेको प्राधिकरणले जनाएको छ।
जलविद्युत् आयोजनाका हकमा भने अहिले कुनै पनि सीमाभित्र गणना नहुने गरी साना जलविद्युत् आयोजनालाई प्रवद्र्धन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए खोल्न लागेको प्राधिकरणले जनाएको छ।