काठमाडौं। पूर्व–पश्चिम राजमार्ग दक्षिण दुई लेनको सडकले धान्न नसक्ने भन्दै जनकपुर–ढल्केबरसडकखण्ड ६ लेनमा विस्तार गरिएको हो। भारतीय नाकाहरूमा सवारी चाप बढेपछि सरकारले यसलाई व्यापारिक मार्ग विस्तारको आयोजनाअन्तर्गत अघि बढाएको थियो। सो सडकखण्ड निर्माण हाल अन्तिम चरणमा पुगेको छ।
सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राखेको सडक विभाग जनकपुरका प्रमुखले जानकारी दिएका छन्। हालसम्म सो सडकको ४० मध्ये ३२.५ किमीसडक कालोपत्रे भइसकेको छ। सो क्षेत्रमा पर्ने केही पुल निर्माणाधीन अवस्थामा छन्।
यस आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्चिम राजमार्गलाई जोड्नेछ। सो सडक व्यापारिक क्षेत्रमा ५० र गाउँघरमा ३७.५ मिटर चौडाइ हुने बताइएको छ। सो सडकबीचमा चार लेन, सडकको दुवै छेउमा सर्भिस लेन र सहरी क्षेत्रमा फुटपाथ पनि निर्माण भइरहेको छ। यसैगरी खानेपानी र ढललाई फुटपाथमा सारिएको हुनाले यसको मर्मत संभार गर्दा सडकमा कुनै असर नपर्ने जनाइएको छ।
साढे ७ अर्ब लागत रहेको जनकपुर–जटही सडक निर्माण २०७२ सालमा सुरु भएको थियो। यो सँगै निमाृण भइरहेको लक्ष्मीनिया गाउँपालिका सपही–ढल्केबरखण्ड निर्माण सम्पन्न भइसकेको छ। यसैगरी मुख्य बजार सपही–जिरोमाइल बेलापुल ९.५ मध्ये २.५ किमीमा निर्माणको काम द्रुत गतिमा भइरहेको छ। सो क्षेत्रको सबै काम आगामी चैत्र मसान्तसम्म सक्ने योजना रहेको छ।
उक्त सडक निर्माण भएपछि जटहीदेखि ढल्केबर बीचमा तीव्र औद्योगिक विकास हुने उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्षले जानकारी दिएका छन्। यसैगरी भारतले सीमावर्ती पिपरौनमा भन्सार नाका खोल्ने निर्णयसमेत गरिसकेको छ। उक्त मार्गको विस्तारले व्यापारिक नाकाहरूबाट सहज रूपमा सामान आयात निर्यात गर्न सकिने भएको छ। त्यस्तै सो मार्गमा पर्ने बस्तीहरू पनि व्यापारिक करिडोरका रूपमा विकास हुने विश्वास गरिएको छ।