काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका ३७ प्राविधिकको नियुक्ति बदर भएको छ । लोकसेवा आयोगले विधि नपुर्याई अन्तिम नतिजा सार्वजनिक गरेको भन्दै वैकल्पिक उम्मेदवारले दिएको उजुरीका आधारमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नियुक्ति बदर भएको हो ।
प्राधिकरणले गत माघ १४ गते इलेक्ट्रिकल, सुपरभाइजर लगायत ३७ जना प्राविधिकको नियुक्ति बदर गर्यो । आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका उनीहरूको पत्र दिएको केही समयमै सूचना जारी गरेर नियुक्ति पत्र रद्द गरिएको थियो ।
प्राधिकरणले माघ ५ गते सूचना जारी गरेर नियुक्ति बुझ्न बोलाएपछि उनीहरू माघ १४ गते पत्र थाप्न आएका थिए । तर, पत्र बुझेको केही समयमै प्राधिकरणले अदालतको माघ ८ गतेको आदेश अनुसार भन्दै नियुक्तिपत्र बदर गरेको सूचना जारी गरेको थियो । अदालतले ‘मंसिर २७, २८, २९ र पुस २१ मा प्रकाशित नतिजा तत्काल कार्यान्वयन नगर्नूरनगराउनू,’ भनी अन्तरिम आदेश जारी गरेको थियो ।