काठमाडौं। रसुवागढी जलविद्युत् आयोजनाको निर्माण पूरा भई सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) गरिएको छ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको १११ मेगावाटको आयोजनाको ड्राई टेस्ट पूरा भएको हो ।
रसुवागढीको लट–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन ९सिडब्लूई० सँग ठेक्का सम्झौता भएको थियो । यस्तै, लट–२ ९इलेक्ट्रो मेकानिकल० को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो ।
सबै क्षेत्रको काम भइरहँदा बाढी–पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी जस्ता प्राकृतिक प्रकोपबाट आयोजना प्रभावित हुँदै आयो । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामामारीका कारण आयोजनाको निर्माण एक वर्ष प्रभावित हुन पुग्यो । कोरोनाका कारण भएको लकडाउन खुले पनि चिनियाँ नाका बन्द रहँदा उपकरण ल्याउन र समय दिएर काम गर्न नसक्दा निर्माण थप प्रभावित भएको थियो ।
लट–३ अर्थात् प्रसारण लाइनको काम गर्न कम्पनीले २०७४ असार १ गते मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । करिब ४ वर्ष बित्दासम्म यो कम्पनीले २० प्रतिशत पनि काम गरेन । यसपछि, उससँग ठेक्का तोडी एमएस रोयल कन्स्ट्रक्सन कम्पनीसँग २०७९ कात्तिक १५ गते सम्झौता गरी काम सुरु गरेको थियो । आयोजनाको विद्युत्गृहदेखि चिलिमे हब सबस्टेसनसम्म जम्मा १० किलोमिटर प्रसारण लाइनले पनि निकै समय लिएको छ ।
कर्मचारी सञ्चय कोषको वित्तीय सहयोगमा निर्माण भइरहेको आयोजनाको ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि कम्पनीको सञ्चालक समितिले ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ प्रक्षेपण गरेको थियो । यही लागतमा निर्माण पूरा भए रसुवागढी प्रतिमेगावाट १३.७० करोड रुपैयाँमा सकिन्छ ।