काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको करिब आधा काम पूरा भएको छ। गत वर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु भएको २२.५ मेगावाटकोआयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको हो।
ठूलोखोला हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको पाइपलाइन र बाँधतर्फको कामलाई तीव्रता दिएको कम्पनीले जनाएको छ । आयोजनामा २८०० मिटर लामो पाइपलाइन निर्माणाधीन छ ।
बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत्गृहमा खसालेर उत्पादन हुने विद्युत्लाई दानामा निर्माण भएको सवस्टेसनमा जोडेर राष्ट्रिय प्रसारणमा जोडिनेछ । अहिले प्रसारण लाइन निर्माणका लागि टावर बनाउने काम अघि बढेको आयोजनाले जनाएको छ ।
आयोजनाले आगामी २०८२ बैशाखभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।