काठमाडौं। कर्म नासा खोला–हरिसिद्धि–गोदावरी सडकखण्डको सडक विस्तारको काम लामो समयदेखि अलपत्र परेको छ। सम्झौता भएको समय सकिसक्दा पनि यस सडकको विस्तार र कालोपत्र गर्ने काम अझै अलपत्र अवस्थामा रहेका हो।
यस सडकखण्डको काम दुई चरणमा विभाजन गरेर विस्तार गर्ने ठेक्का सम्झौता भएको थियो।
पहिलो चरणअन्तर्गत कर्म नासा खोलादेखि करिब ४ किलोमिटर सडक विस्तार गर्न आशीष–सिएम जेभीले ठेक्का पाएको थियो। माघ २०७७ मा सम्पन्न गर्ने गरी ३ असार २०७३ मा सम्झौता भएको थियो।
त्यसैगरी दोस्रो चरणको करिब ३ किमी सडक निर्माणका लागि लामा–समानान्तर जेभीले ठेक्का पाएको थियो। २०७७ कात्तिकमा सम्पन्न गर्ने गरी ३० असार २०७४ मा ठेक्का सम्झौता भएको थियो।
सम्झौता भएको मिति सकिसक्दा पनि हालसम्म यो सडकको कामले गति लिन सकेको छैन। निर्माण गर्न अलपत्र पारेर छोडिएको सडकको अवस्थाले यहाँका स्थानीय हैरान भइसकेका छन् ।
वर्षामा हिलो र हिउँदमा धुलोले बस्नै नसक्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ। धुलो र हिलोका कारण दैनिक हिँडडुल गर्दा दिक्क लाग्न थालेको एक सवारी चालकले बताए।