काठमाडौं। गोल्यान समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा ६० मेगावाट बराबरका ६ सौर्यविद्युत् आयोजना अगाडि बढाएको छ । बाँके, कपिलवस्तु र दाङ जिल्लामा ६ आयोजना अगाडि बढाइएको हो ।
६ मध्ये पियोर इनर्जी लिमिटेडले बाँकेको कोहलपुरमा निर्माण गरेका १०/१० मेगावाटका दुई आयोजनाबाट विद्युत् उत्पादन सुरु भइसकेको छ । यी आयोजनाबाट उत्पादित विद्युत् १५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कोहलपूर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको जनाएको छ ।
उल्लिखित २ आयोजना विश्वको आधुनिक बायो–फिसिएल मोडुलमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
अन्य निर्माणको विभिन्न चरणमा रहेका ४ आयोजनामध्ये एउटा (१० मेगावाट) ले उत्पादन अनुमतिपत्र लिएर विद्युत् खरिद सम्झौता (पिपिए) को प्रक्रियामा अगाडि बढाएको छ । बाँकी ३ वटा (३० मेगावाट) उत्पादन अनुमतिपत्र पिपिए बाहेक सबै काम पूरा गरी पिपिए पर्खाइमा रहेको तर बोलकबोल प्रक्रिया लागु गरेको हुँदा पिपिए हुन नसकेको कम्पनीले जनाएको छ।