बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा १ करोड ७१ लाख भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा १ करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचना समेत निर्माण गरेको छ ।
मन्दिरमा गत माघ महिनामा मात्रै १९ लाख ७२ हजार भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा ३ लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।
बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलन हुने उनले बताए । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरगहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।