सोलुखुम्बु। सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँ आउने पर्यटक समस्यामा पर्ने गरेका छन्। गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो ।
विद्युत नहुँदा सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।
खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक १०० हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांक छ। अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।
अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युतका कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको हो।
नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरीले जनाएको छ। विद्युतको भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको छ ।
जमिनमुनिको करिब ७५० मिटर तार फेर्नुपर्ने भएको खुम्बु बिजुली कम्पनीले जनाएको छ। काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनीको भनाइ छ।