काठमाडौं। ९९.५ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह हुने २२० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ ।
तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजनाको स्वीचयार्डदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् लाइनका टावर नम्बर १७ र १८ मा ‘लुप इन लुप आउट’ गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको हो।
कम्पनीले ३.४ किलोमिटर लामो २२० केभी डबल सर्किट लाइनको स्थलगत निर्माण सुरु गर्न विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले लाइन निर्माण अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन तामाकोसी–५ को विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि निर्माण गरिएको लाइन पूरा भएपछि ५७७.८ मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । १८ वटा टावर रहने गरी निर्माण गर्न लागिएको लाइन पूरा गर्न २८ महिना लाग्नेछ ।