काठमाडौं। नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गरेपछि यसै विषयमा आजदेखि बिहीबारसम्म तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गरेको हो।
‘पुनर्निर्माणबाट लचिलोपन सम्म’ भन्ने नाराका साथ नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंको हायात रिजेन्सी होटलमा शुरु भएको छ। सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाबाट प्राप्त अनुभव र सिकाइलाई बाँड्दै विपद् प्रतिरोधी नेपालको मार्गचित्र प्रस्तुत हुने बताइएको छ।
कोरोना भाइरस महामारीको प्रभाव कायमै रहेको कुरालाई मध्यनजर गर्दै सम्मेलन दुई मोडेलमा आयोजना गरिएको छ। भौतिक रुपमा र जुम प्रविधि दुवै माध्यमबाट मानिस सम्मेलनमा सहभागी भएका छन्।
धेरै विज्ञ र प्रतिष्ठित व्यक्तित्वहरु भौतिक रुपमा सम्मेलनमा सहभागी हुन काठमाडौं आएको आयोजक परिवारले जनाएको छ। आयोजकका अनुसार जुम माध्यमबाट सम्मेलनमा सहभागी हुनेको संख्या पनि बढी रहेको छ।