चितवन। भरतपुर महानगरपालिका–१७ मा सिँचाइका लागि २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल सञ्चालनमा ल्याइएको छ । १७० बिघा खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन यी डिप बोरिङ र स्यालाट्युबेल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
डिप बोरिङ र स्यालो ट्युबेल सञ्चालनको बिहीबार उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच ती सिँचाइ आयोजनाको उद्घाटन गरेकी हुन्।
१८ वटा स्यालो ट्युबेल निर्माणका लागि चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक करोड ३५ लाख रुपैयाँ र दुईवटा डिप बोरिङ निर्माणका लागि एक करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । सिँचाइका लागि डिप बोरिङ र स्यालो ट्युबेल उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरभित्र सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी ल्याएको उनको भनाइ थियो ।