काठमाडौ। १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । निर्माण सुरु भएको ५ वर्षमा आयोजनाको ५१.४४ प्रतिशत काम सम्पन्न भएको हो।
आयोजनाको ४६.३४ प्रतिशत आर्थिक प्रगति भएको छ ।
प्याकेज–१ को २७.७५ प्रतिशत भौतिक र २३.८८ प्रतिशत आर्थिक प्रगति भएको छ। प्यााकेज–२ को ५१.१४ प्रतिशत भौतिक र ४४.०९ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज–३ को ७६.५ प्रतिशत भौतिक र ७२.६ प्रतिशत आर्थिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ।
आयोजनाको कामलाई निर्धारित समय अर्थात सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको आयोजनाको भनाइ छ। आयोजनाको बाँध निर्माणको काम भइरहेको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।
यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।