काठमाडौं। २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको काम आधाभन्दा बढी पूरा भएको छ । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको आयोजनाको काम ६२ प्रतिशत सम्पन्न भएको हो।
अहिले बाँध, विद्युत्गृह सुरुङ लगायत सबै भागको काम एकसाथ भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाको मुख्य सुरुङ ३१०५ मिटर र पेनस्टक पाइप लाइन १ किलोमिटर छ । सुरुङको काम ८० प्रतिशत पुरा भइसकेको छ, भने पेनस्टक पाइप बिछ्याउनका लागि खन्ने काम सकिएको छ । पाइप बिछ्याउने काम पनि ३० प्रतिशत बढी सकिएकोछ।
आयोजना सम्पूर्ण काम पूरा गर्न ५ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थापकहरूको लगानी छ ।