फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् ।
गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले राससलाई जानकारी दिए। चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र रु ५५ लाख ६८ हजारको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।
यसैगरी, नाङरुङमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए ।
सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।