काठमाडौं। १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । हिम रिभर पावर प्रालिले सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ खोलामा निर्माण गरिरहेको आयोजनाको काम पूरा हुने चरणमा रहेको हो।
कम्पनीले आयोजनाको काम साढे ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित राखेर काम गरिरहेको छ।
निर्माण सुरु भएको २२ महिना मै काम अन्तिम चरणमा पुर्याएको कम्पनीका कार्यकारी अध्यक्ष सुदीपकुमार चौधरीले बताए। उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठभित्र उत्पादन सुरु हुनेछ ।
विद्युत्गृहको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । एउटा मेसिनको जग खन्ने काम पूरा भइसकेको छ भने अर्को मेसिनको लागि जग खन्ने काम भइरहेको छ । २५ दिनभित्र इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको बताइएको छ।
आयोजनाको सबै काम पूरा गरी २०८१ जेठभित्र उत्पादन गर्ने लक्ष्य रहेको छ । विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८१ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि एक महिना अगावै बिजुली उत्पादन थाल्ने योजनासहित काम भइरहेको आयोजनाले जनाएको छ।