काठमाडौं। नेपालगन्ज–नानपारा १३२ केभी डबल सर्किट क्रसबोर्डर प्रसारण लाइनको निर्माण ठेक्का मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले पाएको छ। नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनीबीच फागुन १६ गते ठेक्का सम्झौता भएको हो।
सम्झौतापत्रमा निर्माण कम्पनीका कार्यकारी अध्यक्ष अजयकुमार मुडभरी र प्राधिकरणका तर्फबाट आयोजना प्रमुख रञ्जराज गुरुङले हस्ताक्षर गरे ।
सम्झौताअनुसार निर्माण कम्पनीले लाइनको डिजाइन, आपूर्ति, निर्माण, जडान, परीक्षणको काम दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने छ। नेपालमा उत्पादित विद्युत् खपत भई बाँकी बिजुली भारतीय बजारमा बिक्री गर्न र आवश्यक परेको खण्डमा आयात गर्न यो लाइनको निर्माण प्रक्रिया अघि बढाइएको हो ।
४६ करोड रुपैयाँ लागत अनुमान गरिएको नेपाल खण्डमा करिब ५७ वटा टावर रहने गरी डिजाइन तयार पारिएको छ । लाइन निर्माण पूरा भएपछि करिब २०० मेगावाट विद्युत् प्रवाह हुनेछ ।