काठमाडौं। ७.५ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। भुजुङ हाइड्रो पावर कम्पनीले लमजुङ जिल्लामा निर्माण गरेको आयोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको हो।
आयोजनाबाट फागुन १६ गतेदेखि विद्युत् उत्पादन सुरु भएको हो। प्रवर्द्धक कम्पनीले आयोजनाको स्वीचयार्डदेखि सबस्टेसनसम्मको २६ किलोमिटर ३३ केभी प्रसारण लाइन आफैंले निर्माण गरेको थियो। आयोजनाबाट विद्युत्को व्यापारिक उत्पादन भने सुरु गरिएको छैन।
प्रवर्द्धकले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडान गरी प्राधिकरणका प्राविधिकहरूको उपस्थितिमा गत पुस २४ देखि २८ गतेसम्म ‘ड्राई टेस्ट’ गरेको थियो। ‘ड्राइ टेष्ट’पश्चात् संरचनामा पानी भरेर ‘वेट टेष्ट’ गरिएको थियो। आयोजनाको बाँधबाट ३.७३५ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानी विद्युत्गृहमा खसाली बिजुली उत्पादन गरिएको छ। जसबाट वार्षिक ४२.२५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ।