काठमाडौं। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक मर्मत कार्य नहुँदा समस्या भएको भन्दै त्यहाँको स्थानीय आन्दोलनमा उत्रिएका छन्। चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस २६ गते बुटवल बन्दको आह्वान गरेका हुन्।
समितिले झुम्सा खानेपानी योजना तत्काल निर्माण सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्बर १, पाखापानी वडा नम्बर २ र वडा नम्बर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
यसैगरी मंगलबार दिउँसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साँझ सडकमै पत्रकार सम्मेलन गरेको हो। सोही पत्रकार सम्मेलनमा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिका अध्यक्षले आज नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।
त्यसैगरी सो समितिले पुस ३ गतेसम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरूमा ज्ञापन पत्र दिने, पुस ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। समितिले पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम बनाएको छ। यसैक्रममा पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने जनाइएको छ। यसैगरी समितिले पुस २५ गते नाराजुलुस गर्ने पनि जानकारी दिएको छ।