काठमाडौं। नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना विकासको प्रक्रिया अघि बढाइने भएको छ। सिँचाइ सुविधा विस्तार गर्ने र सँगै विद्युत उत्पादन समेत गर्ने लक्ष्यका साथ सरकारले नौमुरे बहुउद्देश्यीय आयोजना विकास गर्न लागेको हो।
उक्त आयोजनाबाट २८१ मेगावाट विद्युत उत्पादन गर्ने र ८३ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखिएको छ।
विद्युत् उत्पादनका अलावा, वातावरणको संरक्षण, बाढी नियन्त्रण, पर्यटन विकास, सिँचाइ, मत्स्यपालनलगायतका सुविधा विस्तारका लागि सो आयोजना महत्वपूर्ण हुने विश्वास लिइएको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि ६ वर्ष लाग्नेछ । रोल्पाबाट प्यूठान भएर बगेर आउने माडी र झिमरुक नदी मिसिएपछि बन्ने राप्ती नदीको पानी उपयोग गरेर नौमुरे आयोजना अगाडि बढाउने तयारी छ ।
२०७४ देखि सम्भाव्यता अध्ययन सुरु भए पनि लामो समय लगाएर २०७८ मा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७७/७८ को अनुमान अनुसार आयोजनाको कूल अनुमानित लागत १ खर्ब २६ अर्ब रुपैयाँ बराबर रहनेछ ।