सुर्खेत। सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा सङ्घ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत् विस्तारको काम अघि बढाइएको हो ।
प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेस गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए। उनका अनुसार इआईए स्वीकृतिको फाइल प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । सबै प्रक्रिया पूरा गरी इआईए स्वीकृतिको चरणमा रहेको भन्दै उनले त्यसपछि अन्य काम अघि बढाइने जानकारी दिए।
उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ। डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरिएको निर्देशक आचार्यले बताउनुभयो । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ ।
संघ र प्रदेश सरकारले उद्योगको पूर्वाधार निर्माण गर्न लागेका हुन् । सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएका थिए । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो । सङ्घीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । अहिले विद्युत् विस्तार गर्न टेण्डर आह्वान गरिएको छ । गोरखापत्रबाट