काठमाडौं। ललितपुर जिल्लाको बागमती गाउँपालिकामा पहिचान भएको ६.५ मेगावाटको माल्टा बागमती जलविद्युत आयोजना निर्माण गरिने भएको छ। बागमती वाटर इनर्जी प्रालिले जलविद्युत आयोजना निर्माण गर्न अध्ययन पूरा गरी संरचनागत निर्माण सुरु गर्न अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको हो।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।
आयोजनाको मुख्य संरचनाहरू बागमती नदीको बायाँ किनारमा पर्दछन् । बागमती नदीमा बाँध बाँधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै अर्धसतही विद्युत्गृहमा लगिनेछ ।
आयोजनाबाट वार्षिक ३८।१५७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
उत्पादित विद्युत्लाई ५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको ३३ केभी माल्टा सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी २०८३ बैशाखभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।