काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन्। जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडका प्रमुख केके शर्मासँगको भेटवार्तामा मुख्यमन्त्री शर्माले आयोजनाको काम अघि बढाउन आग्रह गरेका हुन्।
मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी समेत लिएका छन्। आयोजना कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको समेत बताए।
आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए। आयोजनामा १ खर्ब १६ अर्ब रुपैयाँ प्रारम्भिक लगानी हुने अनुमान गरिएको छ ।