काठमाडौं। मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत लेते, छयो, कुञ्जो, टिटी, हुँदै सिर्खुङसहित ५ गाउँ जोड्ने १२ किमी सडक कालोपत्रे हुने भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको सो सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० करोड बजेट विनियोजन गरेको हो।
उक्त मन्त्रालयले गत आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुरुप थासाङको ग्रामीण भेग जोड्ने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको थियो। यसैगरी मन्त्रालयले थासाङको ३, ५ र २ वडा जोड्ने १२ किमी सडकको स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने जिम्मा डिभिजन सडक कार्यालय बाग्लुङलाई दिएको छ। मन्त्रालय अन्तर्गत सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सकिएको र हाल सो सडकको डिपिआर फिल्ड भेरीफिकेसनको काम धमाधम भइरहेको जनाइएको छ।
संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा सो सडक निर्माण हुन लागेको हो। कोरोना कहरले प्रारम्भिक काममा अवरोध पुगे पनि हाल सो सडक निर्माणको पूर्व भेरिफिकेसन सर्बेका लागि सांसद तुलाचन आफैँ खटिएका छन्। हाल काठमाडौंको स्पार्क कल्सन्टेन्सी प्रालिले तयार गरेको डिपिआरको अन्तिम भेरिफेकसन गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय बाग्लुङले जानकारी दिएको छ। यसैगरी एक साताभित्रै लागत स्टमेट तयार गरी सूचना प्रकाशित गरेर चाँडै ठेक्का सम्झौतामा जाने जनाइएको छ। चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौताको सम्पूर्ण प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुआतमै कालोपत्रे सडक निर्माणको काम सुरु गर्ने योजना रहेको सडक डिभिजन कार्यलय बाग्लुङले जानकारी दिएको छ।
राष्ट्रिय गौरबको बेनी—जोमसोम सडक अन्तर्गत थासाङको लेतेदेखि सिर्खुङसम्मको करिव १२ किमी सडक कालोपत्रेका लागि बजेट बिनियोजन भइसकेको छ। थासाङको ग्रामीण भेग जोड्ने सडकको ७ मिटर कालोपत्रे, ५० सेमी सोल्जर र १ मिटर नाली निर्माण गरिने योजना रहेको छ। सडक कालोपत्रे पश्चात सो क्षेत्रका गाउँमा पक्की पुल र सडकको पहुच नहुँदा निकै समस्यामा परेका स्थानीयको कृषि उपज सामाग्री सहज ढुवानी र बजारीकरणमा समेत सहयोग पुग्ने जनाइएको छ।उक्त गाउँमा सडक पहुँचसँगै कालोपत्रे विस्तारको योजनाले स्थानीय बासिन्दा खुसी भएका छन्।