फुङ्लिङ। गत असारमा आएको भीषण वर्षापछि आएको बाढी पहिरोले क्षति पुर्याएको ९.९ मेगावाटको इँवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा अवस्थित यो आयोजनाको पुनर्निर्माण हुन नसकेको हो।
यो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति पुर्याएको छ । आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन पनि ठप्प छ ।
जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इप्पान० का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो ।
बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले बताए ।
आगामी बैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल पुनर्निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ ।