ताप्लेजुङ। ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण चैतभित्र सकिने भएको छ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोलामा रहेको आयोजनाको पुनर्निर्माण आगामी एक महिनामा पूरा हुने भएको हो।
तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको थियो । जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो ।
बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको छ। पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र चैतभित्र सम्पन्न गरी आगामी बैशाखसम्ममा उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।