काठमाडौं। हाल बजारमा माटोबाट निर्माण गरिने रातो इँटाको बैकल्पिक निर्माण सामाग्री एएसी ब्लकको मूल्य पनि बढेको छ। अहिले एएसी ब्लकको मूल्य प्रतिघनमिटर करीव ५ सय रुपैयाँ बढेको उत्पादक कम्पनीहरुले जानकारी दिएका छन्।
एएसी इँटा प्रालि र एरोब्रिक्स प्रालि नेपालमा आधुनिक प्रविधिको निर्माण सामाग्री एएसी ब्लक उत्पादन गर्ने ठूला कम्पनीहरु हुन्। एएसी इँटा प्रालिले एएसी इँटा र एरोब्रिक्स प्रालिले एएसी ब्लक ब्रान्ड नेमबाट गारो लगाउने आधुनिक प्रविधिको ब्लक बजारमा ल्याएका छन्। एएसी ब्लकको मूल्य मंसिर १६ गतेदेखि बढाएको हो भने एएसी इँटाको मूल्य मंसिर १४ गतेदेखि नै बढाएको एएसी इँटा प्रालिले जानकारी दिएको छ।
निर्माणको सिजनमा रातो इँटाको मूल्यसँगै एएसी ब्लकको पनि मूल्य बढेको हो। यसअघि नै १० प्रतिशत मूल्य बढिसकेको रातो इँटाको मूल्य छिट्टै १५/२० प्रतिशतले बढाउने तयारी भइरहेको इँटाभट्टीका सञ्चालकले जानकारी दिएका छन्। कोइलाको अभाव र मूल्य बढेको हुँदा पाकेका रातो इँटाको मूल्य बढाउनु परेको व्यवसायीको भनाई रहेको छ। माटोका इँटाको बैकल्किप निर्माण सामाग्री मानिएको एएसी ब्लकको मूल्य बृद्धि हुनुमा पनि कच्चा पदार्थको मूल्य बृद्धि प्रमुख कारण रहेको व्यवसायीले बताएका छन्।
एएसी ब्लकको मूल्य पहिला प्रतिघनमिटर ८ हजार ६५० रुपैयाँ प्लस भ्याट रहेकोमा हाल मुल्य बढेर भ्याट र गाडीभाडासहित ९ हजार ५० रुपैयाँ पुगेको छ। पहिला एएसी ब्लक बजारमा पठाउँदा छुट्टै गाडी भाडा नजोडे पनि यस पटकदेखि गाडी भाडा छुट्टै जोडेर ब्लक बजारमा पठाउन थालेको कम्पनीले जनाएको छ। यसैगरी एएसी इँटाको मूल्य पहिला प्रतिघनमिटर ११ हजार ९५२ रुपैयाँ थियो। तर हाल मूल्य बढेर प्रतिघनमिटर १२ हजार ४५० रुपैयाँ पुगेको छ।