जुम्ला। जुम्लामा पाँच करोडको लागतमा बहुवर्षिय सिँचाइ आयोजना निर्माण भइरहेको छ । जुम्लाकै ठूलो सिँचाइ आयोजनाका रूपमा ‘उठिल्या–एैरेनी’ बहुवर्षिय सिँचाइ आयोजना निर्माण भइरहेको हो । निर्माण सुरु भएको करिब नौ महिनामा सिँचाइ आयोजनाको भौतिक प्रगति २१ प्रतिशत भएको छ । हिउँदमा चिसोले सिमेन्टको काम बन्द भएपछि प्रगति न्यून भएको हो ।
यद्यपि निर्माण कार्य भने द्रुत गतिमा भइरहेको छ । चन्दननाथ नगरपालिका–८ र ९ तथा तातोपानी गाउँपालिका–५ का किसान लाभान्वित हुने गरी कुल पाँच करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भई उक्त बहुवर्षीय सिँचाइ आयोजना निर्माण भइरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकल महतले बताए ।
अबको तीन वर्षमा ‘उठिल्या–एैरेनी’ साढे चार किमी पक्की सिँचाइ कुलो निर्माण हुनेछ । सिँचाइ कुलो निर्माण पश्चात् चन्दननाथ र तातोपानीको ९२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ । कार्यालय प्रमुख महतका अनुसार तिला नदीबाट जोखिममा रहेको सिञ्चित खेतीयोग्य जमिनलाई जोगाउन बाँध निर्माण, पक्की नहर, पक्की पर्खाललगायतका संरचना निर्माणको कार्य भइरहेको छ । सिँचाइ आयोजना निर्माण गत जेठ १४ बाट सुरु भएको हो ।
आगामी २०८३ जेठ २८ मा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको कार्यालयका सूचना अधिकारी नेत्रराज गिरीले बताए । बजेट अभावले जिल्लाका विभिन्न क्षेत्रका भत्किएका सिँचाइ कुला पूर्ण निर्माण हुन सकेका छैनन् । उनले भने,‘जुम्लामा खेती योग्य जमिन प्रशस्त भए पनि सिँचाइ सुविधा नहुँदा जमिन बाझिँदै गएको छ । पक्की सिँचाइ कुलो नहुँदा प्राय क्षति भइरहन्छ । यो आयोजना निर्माणपछि चन्दननाथ र तातोपानीको सिँचाइ अभावलाई टार्ने छ ।’
आयोजनाबाट तातोपानी गाउँपालिका–५ का ऐरेनी, लाम्रा, श्रीनगर तथा चन्दननाथ–८ र ९ का श्रीढुस्का, उमगाडका सयौं किसान प्रत्यक्ष लाभान्वित हुनेछन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका इन्जिनियर दीपेश कोइरालाले मौसम प्रतिकुलतालगायतका कठिनाइबीच आयोजना निर्माणले गति लिएको दाबी गरे ।
उनका अनुसार आयोजना निर्माणको ठेक्का ईद्रावती निर्माण सेवा धनगडी–५ कैलालीले पाएको छ । यद्यपि निर्माण कार्यलाई गति दिन, सम्झौता अनुसार काम गर्न तथा गुणस्तरमा ख्याल राख्नेलगायतका काममा कार्यालयले ताकेता गरिरहेको इन्जिनियर कोइरालाले बताए । कारोबार दैनिकबाट