काठमाडौं। संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ। कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु खण्डको निर्माण पूरा भएको हो।
तमोर नदी र त्यसका सहायक खोलानालाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु डबल सर्किट लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु लाइनको लम्बाइ ३५ किलोमिटर छ ।
१२७ वटा टावर निर्माण गरिएको लाइन अन्तर्गत वसन्तपुर सबस्टेसनमा ६ वटा ‘बे’ विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा ‘बे’ का उपकरण जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैत पहिलो साताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु लाइन निर्माण सम्पन्न भएपछि मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए ।