काठमाडौं। विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक चार्जिङ एप सार्वजनिक भएको छ। एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले ‘पारामाउन्ट चार्जिङ सोलुसन एप’ सञ्चालनमा ल्याएको हो ।
एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी गर्नु पर्नेछ । यो एपले देशभर रहेका ३० किलोवाट डीसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्याउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरूलाई विशेष फाइदा गर्नेछ। हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएको छ ।