काठमाडौं। माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकको अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ । १०६३ मेगावाटको माथिल्लो अरुण आंशिकजलाशय निर्माण गर्न १ अर्ब ७५ कराेड डलर आवश्यक पर्नेमा ७० प्रतिशत ऋण र ३० प्रतिशन स्वपुँजीबाट लगानी व्यवस्थापन गरिने भएको छ ।
माथिल्लो अरुणका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सह–वित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ। स्वपुँजीका लागि ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापकहरूबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गर्ने योजना छ।
जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरुणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, विद्युत प्राधिकरण लगायत संस्थापक सेयरधनी रहनेछन् । आयोजनाको निर्माण सन् २०२६ देखि सुरु गरी २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म आयोजनाको प्रवेशमार्ग, कार्यालय तथा आवास निर्माण भइरहेको जनाइएको छ ।