दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका १ हजार ७ सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् ।
प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ।
आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् ।
त्यस्तै, तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ ९ र सिडिपीमा १ हजार ३ सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका १ हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ । सबैमा गरी कूल दुई हजार ९ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार ६ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् ।