काठमाडौं। कर्णाली करिडोरअन्तर्गतको कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ। कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो।
निर्माणको काम सुरु गरेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो। वि.सं. २०६६ सालमा हाल कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए।
२०६६ सालमा कन्काइ जेभीले ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो। सुरुको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाइ हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो। उक्त करिडोरमा पुल नहुँदा यात्रुहरू समस्यामा परेका थिए।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने छन्। यस क्षेत्रका सर्वसाधारण अब सहजै यात्रा गर्न सक्ने वातावरण सिर्जना भएको उनले जानकारी दिए।