काठमाडौं। न्यु बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।
एमसिए नेपालले न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्न बोलपत्र आह्वान गरेको हो।
एमसिए नेपालले गत महिना सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबिचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने भन्दै छुट्टै प्याकेजमा बनाउने निर्णय एमसिए नेपालले गरेको थियो ।
चार सय केभी डबल क्वाड मोज कन्डक्टरयुक्त सो प्रसारण लाइनले दुई हजार पाँच सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि २०७६ असोजमै नेपाल र भारतबिच सहमतिपछि काम अघि बढेको हो ।