काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा महरालाई भैरहवा पक्राउ गरेर विमानस्थल हुँदै लाजिम्पाटस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय लगिएको हो।
इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका थिए। केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराको समेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए।
मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
गत शुक्रबार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।