काठमाडौं। बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले नवलपरासीमा निर्माण गरेको १९ किलोमिटर लामो प्रसारण लाइन आजदेखि सञ्चालनमा आउने भएको हो।
उक्त लाइन मंलबारदेखि चार्ज गरिने भएकोले लाइनको ९ मिटर दायाँवायाँको दूरीमा कुनै मानवीय गतिविधि नगर्न प्राधिकरणको प्रसारण निर्देशनालयले सूचना जारी गरेको छ ।
बर्दघाट १३२/११ केभी सबस्टेसनदेखि बर्दघाट नगरपालिका–२ र ५ मा पर्ने बन्डा खोला, दाउन्ने धार्मिक वन, घिउ खोला सामुदायिक वन, विनयीत्रिवेणी गाउँपालिका–२, खुमल्टार हुँदै सर्दीमा रहेको होङ्गसी सिमेन्ट उद्योगसम्मको क्षेत्रमा पर्ने प्रसारण लाइन वरपर कुनै गतिविधि नगर्न निर्देशनालयले आग्रह गरेको हो ।
प्रसारण लाइन सञ्चालनमा आएपछि खासगरी नवलपरासीका औद्योगिक ग्राहकहरुलाई विद्युत आपूर्ति सहज हुनेछ ।